काठमाडौं –सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवार बिहान ११ बजेका लागि तय भएको बैठक साढे ११ बजे शुरू भएको थियो ।
तर, सरकारका कुनै पनि मन्त्री उपस्थित नभए बैठक नचल्ने भन्दै विपक्षी दलले विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्री उपस्थित नभई बैठक चल्न नसक्ने बताए ।
‘सरकारले सदनलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकारले मानिरहेको छैन । संसद् बैठकमा सरकारको प्रतिनिधि कोही पनि छैनन् । नियमावलीको व्यवस्थाअनुसार सरकार चल्दैन,’ पाण्डेले भने ।
प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा संसद बैठक चल्दा सरकारको प्रतिनिधि उपस्थित हुने व्यवस्था छ । तर, मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित गर्नुपर्ने अवस्था आएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।