काठमाडौं – काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन् । दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । भोलि फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन ।
पर्सी (आइतबार) नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको अध्यक्ष सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै महासंघले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो ।
विधेयक पारितका लागि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना र सांसदहरूसँग भेट गरि महासंघले दबाव दिने कार्यक्रम तय भएको छ । चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।