काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात नहाल्न आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको प्रति सङ्केत गर्दै उनले बरु आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको नदुखाउन सरकारमा सहभागि मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।
साथै उनले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सवका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले सवै राजनीतिक दल र नागरिकको विश्वास जित्नुपर्ने तथा सहकारी, मानव वेचविखन, क्याम्पस तोडफोड लगायतका घटनामा तिराउने दण्ड जरिवाना पनि निष्पक्ष हुनुपर्ने बताए ।
उनले सबै काण्डको छानबिन र दोषीमाथि कारबाहीका लागि साझा प्रतिबद्धता चाहिने बताए । “यताबाट उताका काण्ड देखाउने, उताबाट यताको काण्ड देखाउने होइन । सबै काण्डहरूको छानबिन गर्न न सत्तापक्ष हुन्छ, न प्रतिपक्ष हुन्छ,” थापाले भने, “त्यसका लागि आयोग चाहिएको हो कि के मार्फत गर्ने हो रु छलफल गरौँ । सत्तापक्षमै भएका बेला हाम्रा साथीहरूले सबै काण्डको छानबिन गर्न सार्वजनिक सरोकारको प्रस्ताव यही संसद्मा दर्ता गर्नुभएको छ । त्यसलाई अघि बढाऔँ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।