काठमाडौं– जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
संगठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य सरिताश्री ज्ञवालीले जानकारी दिइन् ।
यसैगरी बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ । मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको ज्ञवालीले बताइन् ।
यही फागुन २५ र २६ गते महोत्तरीको बर्दिवासमा भएको बैठकले आगामी रणनीति विषयमा छलफल गरी सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ । बैठकले तराई–मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नदीनालाको अवैध उल्खनन् रोक्न विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।