काठमाडौँ – समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे भोलि (मंगलबार) निर्णय लिने भएको छ।
आज माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मंगलबार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने भएको हो।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले कुनै निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए।
‘आज पछिल्लो राजनीतिक अवस्था, राजावादीको सक्रियता लगायत विषयमा अनौपचारिक छलफल भयो। विप्लवजी भ्याली बाहिर हुनुभएकाले कुनै निर्णय भएन। भोलि ४ बजे बस्ने बैठकले प्रतिगमनविरुद्धको आन्दोलन घोषण हुनेछ’, उनले भने।
बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो। मोर्चाको छलफलमा माओवादी केन्द्रका अध्यक्षसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।