काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी लिने आदेश गरेपछि लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका हुन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रूपैयाँ धरौटी लिन आदेश दिएको थियो । उनले अदालतले मागेको धरौटी सोही दिन बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।
लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा जिल्लाको उक्त आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका उनको सचिवालयले जनाएको छ ।
फौजदारी कार्यविधिसंहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी त्यो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।