कैलाली– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभामा बोल्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएएका हुन् ।
यस्तै फागुन ७ मा पूर्व राजाले आफूलाई साथ दिन भन्दै गरेको सम्बोधनले आफू छक्क परेकोसमेत टिप्पणी गरेका छन् । ‘फागुन ७ गतेको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो’, उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’
प्रधानमन्त्री ओलीले अराजकताको बाटो हिँडेर केही हत्याउँछु भन्ने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । उनले पूर्व राजालाई राजनीतिमा आउन चुनौती दिँदै स्वागत गरेका थिए ।
‘म उहाँलाई सुझाव दिन चाहन्छु, राजनीतिमा आउने भए स्वागत छ । तर, के कुरामा साथ माग्नुभएको बुझिएन’, प्रधानमन्त्री ओलीले भने ।
अहिले कुनै व्यक्तिले दिएको संविधान नभई जनताको त्याग, संघर्ष र बलिदानीले बनेको संविधानसभाबाट बनेको संविधान रहेको उल्लेख गर्दै उनले त्यसको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताए । देशलाई प्रतिगमनमा जान नदिन सत्ता र प्रतिपक्ष एक ठाउँमा हुनुपर्ने उनको भनाइ थियो ।
वर्तमान सरकार चुनावसम्म चल्ने प्रधानमन्त्री ओलीको दाबी थियो । उनले भने ‘अबको १६ महिनासम्म सरकार म चलाउँछु’, उनले भने, ‘त्यसपछि म नेपाली कांग्रेसलाई सुम्पिन्छु । १६ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । १८ महिना उहाँले चलाउनुहुन्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।