काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न अनुरोध गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई प्रधानमन्त्रीले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु । कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने ? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् ।’
शाहीले जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।
‘१६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन् । ८० लाखभन्दा बढी युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन् । उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौं । राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ । अदालत कार्यकर्ताको बनायौं, ‘उनले अगाडि लेखेका छन्,’ प्रहरी कार्यकर्ताको बनायौ । कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ । तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने ? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।