काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको छ ।
सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो ।
‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यकरुपमा सल्वलाउन थाले,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘यसै विषयमा छलफल गर्न भोलि (आइतबार) पदाधिकारी बैठक बोलाइएको छ । बैठकका लागि जागरण अभियान अन्तर्गतका भोलि–पर्सीका कार्यक्रमहरू अहिलेलाई स्थगित गरिएको हो ।’
उनले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने जिकिर गर्दै राजावादी समूहविरुद्ध प्रतिरोध गर्नुपर्ने अवस्थासमेत हुन सक्ने पनि बताए । ‘अहिलेको गणतन्त्रको विकल्प राजावादी हुनै सक्दैनन् । प्रतिगमन हुनै सक्दैन,’ आचार्यले भने, ‘यस्तो अवस्थामा राजावादी विरुद्ध प्रतिरोध गर्नुपर्ने आवश्यक हुन सक्छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाह जनआन्दोलनका दोषी भए पनि छुट दिइएको भन्दै उनले ज्ञानेन्द्रले सीमा नाघेर गतिविधि गर्न थालेपछिको अवस्थामा रणनीति तय गर्न पदाधिकारी बैठक बोलाइएको पनि बताए ।
यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै नवलपुर ९नवलपरासी पूर्व० मा चैत्र २, परासी ९नवलपरासी पश्चिम०मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा आन्दोलनहरु भइरहेका छन् । आइतबार पोखराबाट काठमाडौँ फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी समेत गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।