डडेल्धुरा– गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई बिहीबारबाट अनुदान रकम हस्तान्तरण थालनी गरेका छन्।
गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन्।
अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे। उनले डोटी भूकम्प गएको डेढ वर्षबितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए।
“ निजी आवास निर्माणका लागि डेढ वर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकेको थिएन।” गृहमन्त्री लेखकले भने–“ अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं।”
उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिए। उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माणे गति पाउनेमा जोड दिए।
“ स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं।” कार्यकारी प्रमुख डा भूसालले भने–“ प्रारम्भ बिन्दु डडेल्धुराबाट भएको छ।” त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुनर्निर्माणमा २६ र प्रबलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।