महोत्तरी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए।
उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए।
अध्यक्ष प्रचण्डले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरू जनताको बीचमा आएको स्पष्ट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।