काठमाडौं –सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथपछि बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अध्यादेश स्वीकृत गरेको हो ।
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।
यी अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका हुन् ।
राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । अध्यादेश बहुमतबाट स्वीकृत गर्न उनीहरूको साथ सरकारलाई आवश्यक थियो । जसपा नेपालको असहमतिपछि भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ पेस हुनबाट रोकिएको छ ।
यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि पारित भएका थिए । सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।