पोखरा – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा पड्किएको बेलुनमा हाइड्रोजन भर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमार रहेका छन् ।
फागुन ३ गते पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि ज्वालाले अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
त्यसपछि उनीहरुलाई पोखरामा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । काठमाडौँको किर्तिपुरस्थित जलन अस्पतालमा उपचार गरी मन्त्री पौडेल डिस्चार्ज भईसकेका छन् भने मेयर आचार्य अझै अस्पतालमै छन् ।
घटनापछि गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिलाई छानबिनको लागि १५ दिनको समय दिइएको छ ।
कास्की प्रहरी स्रोतका अनुसार हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक सोही दिन नै पक्राउ परेका थिए । प्रहरीले अन्य व्यक्तिहरुसँग पनि सोधपुछ संगै पक्राउ परेका कुमार माथि अनुसन्धान गरीरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।