काठमाडौं – एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिहेका छन्।
यो अभियान लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजना गरिएका कार्यक्रम मध्ये एक हो। यस अभियानमा १० विद्यालयका करिब १ हजार ५ सय विद्यार्थी सहभागी भइसकेका छन्।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
‘लैंगिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैंगिक समानतामा प्रगतिलाई रोक्छ। गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणले महिला र किशोरीलाई जोखिम बढाउँछ। यो अभियानले सुरक्षित समाज निर्माण गर्न प्रेरणा दिने विश्वास गरेका छौं। युवालाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्त्वपूर्ण छ,’ जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष विना रानाले भनिन्।
ओरेन्ज द स्कूल अभियानले लैंगिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्त्वलाई उजागर गर्न सहयोग पुर्याएको एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले बताइन्।
युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिने उनको भनाइ छ।
२६ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।