काठमाडौं- २०५९ सालतिर आरआरमा पत्रकारिता पढ्दै थिए प्रविण खतिवडा । प्रशिक्षार्थी पत्रकारका रुपमा रिपोर्टिङ गर्न गुरुकुल पुगे।
मैतिदेवीमा सुनील पोखरेलले भर्खरभर्खर 'गुरुकुल' सुरु गरेका थिए।
त्यहाँ उनले 'अग्निको कथा' नाटक हेरे।
नाटक हेरेर फर्किएको राति प्रविण रातभर छटपटिए।
मान्छे जीवनमा किन छटपटिन्छ?
आफूले सोचेको र रोजेको कुरा नभेटेपछि, ती कुरा पाउन पुग्ने बाटो नभेटेपछि, सोचेका आँटेका कुरा पाउन गरेको प्रयत्न असफल भएपछि र आफू बनेकै अरु चिजका लागि हो भन्ने कुरा थाहा पाएपछि र त्यो पहिल्याउन नसकेर अन्तै भौतारिएको ज्ञात भएपछि ।
हो, त्यो रात, प्रविणलाई यस्तै कुराले चिमोटेको थियो, चिमोटेको मात्र के भन्नु? एक प्रकारले भित्रै पोलेको थियो। त्यसैको डाहले उनलाई छटपटी भएको थियो।
'म साइन्स पढेर फेल भएर फेरि आईएदेखि पत्रकारिता पढ्दै गरेको मान्छे। त्यो (अग्निको कथा नाटक) हेर्दाखेरिचाँहि ओहो ! मलाई रुचि लागेको त यो पो हो त भनेजस्तो लाग्यो। म रातभर छट्पटाएँ', उनले त्यो रातको छट्पटि सम्झँदै भने।
त्यो छटपटिले उनलाई फ्ल्यासब्याकमा लग्यो। छटपटिकाबीच नै स्कूलदेखिका कुराहरु सोच्न थाले।
'अनि सोच्न थालेँ म स्कूलदेखिका कुरा । म के गर्थेँ भनेर । सोच्दाखेरि त स्कूलमा पनि मैले जानीनजानी सरस्वती पूजामा, अभिभावक दिवसमा, शिक्षा दिवसमा , केमा केमा गरेर पाँच-सातवटा नाटकहरु गरेको रेछु', उनले भने।
त्यो फ्ल्यासब्याकको उज्यालोले जीवनको अगाडिको यात्रामा उनले अब तय गर्नुपर्ने बाटो देखाइदियो। उनलाई लाग्यो- ओहो म त यही ठाउँमा हुनुपर्छ जस्तो हुँदै गयो।
उनले नाट्यकर्मी बन्ने अठोट लिए र 'गुरुकुल'मा आवेदन गरे। छनोट भए। त्यस दिन उनी आफू के हुने निश्चित भए रे। 'त्यो दिन नै हो मैले म पूर्णरुपमा व्यवसायिक कलाकार नै हुन्छु भनेर ठानेको', उनले भने।
०००
उनको यो निर्णयमा घरको कान्छो छोरोले घरबाट कस्तो प्रतिक्रिया पायो त?
'घरकालाई कान्छो बर्बादीतिर जाँदैछ भन्ने थियो।' किनकि घरका मान्छे अनुसार बर्बादीको त्यो बाटोमा घरको कान्छोभन्दा अगाडि जेठो छोरो पनि हिँड्न थालिसकेको थियो।
प्रविणका दाजु नवीनलाई बुबाको सपना डाक्टर बनाउने थियो तर दाजुले पत्रकारिता रोजे।
यता पत्रकारिता पढिरहेको कान्छोले त्यो पनि छोडेर नाट्यकर्म रोज्यो। यसमा परिवारभन्दा पनि समाजको दृष्टिकोण ज्यादा हाबी हुने प्रविणको बुझाइ छ।
भने- परिवार र समाजले चाहने भनेको सफलता मात्र हो। उनीहरुले दुई चिज हेर्दा रहेछन्। एउटा सफलता र अर्को सुरक्षा।
मेरो र दाइको सवालमा पनि भएको त्यही हो।
उनले नाटक रोज्ने बेलासम्म दाइ नविन राम्रा खेलपत्रकारका रुपमा सफल बनिसकेका थिए।
अब पालो प्रविणकै थियो।
उनको यो रोजाइ घर हुँदै समाजसम्म नपुग्ने कुरै थिएन। 'गुरुकुल' गयो भनेपछि गाँउलेले त्यसलाई संस्कृतवाला गुरुकुल बुझेछन्।
गाँउले भन्न थाले- ल अब मान्छे बन्ने भो।
बुवा र दाइलाई गुरुकुलको बारेमा हल्का थाहा थियो। सुनिल पोखरेलसँग चिनजान थियो। उनीहरुले यो त्यस्तो खालको गुरुकुल होइन भन्ने बुझेका थिए।
यही बुझेकाले बाबुको मनमा 'यो गयो नाटकेहरुको झुण्डमा भन्ने' परेको थियो।
समय बित्दै गयो। जुन नाटकले उनलाई निदृष्ट लक्ष्य दियो त्यही नाटक 'अग्निको कथा'मै अभिनय गर्ने मौका प्रविणले पाए।
उनकी आमा आएर कान्छोको नाटक हेरिन्।
नाटकमा त कान्छो भिक्षु भएर निस्कियो।
आमाले अभिनय हो भन्ने नबुझेर कोकोहोलो गरिन्- ओहो यो कान्छो त बुद्धिष्ट भएछ।
पछि आमाले साँचो कुरा थाहा पाइन। 'त्यसको ६ महिना एक वर्षमाचाँहि हामी बाहिरफेर डुल्न थाल्यौं', प्रविणले सम्झना गरे- गुरुकुलले नाटक महोत्सवहरुमा भारततिर पनि लग्यो, डेनमार्कतिर पनि लग्यो। मस्को पुर्यायो।'
यी यात्राहरुले प्रविण कान्छोमा मानिसहरुले सफलता देखें, सुरक्षा देख्न थाले।
'मान्छेले त्यसलाई मेरो सफलता माने', उनले भने,'आफ्नो पैसाले त म कहिले डुलेर आउने थिइन। मेरो बा-हजुरबाले देको पैसाले पनि पुगेर आउनेवाला थिइन। त्यसपछि- ए ल यसले आफ्नो इच्छाले रोज्यो तर राम्रै रोज्यो, गर्दैछ भन्ने चाँहि पर्न थाल्यो।'
000
साइन्स छोड्ने निर्णय गरेको दिनमा बाबुले कान्छोलाई सम्झाएका थिए- हरेश नखा कान्छा, तैले सक्छस् गर न, एक वर्ष पढेर मिहिनत गर, पास भइहाल्छस् नि।'
प्रविणलाई अहिले बाबुका ती कुराहरु सम्झिँदा आफूले नै धेरै सोचेर गर्दो रहेछौं जस्तो लाग्छ।
उनले बाबुले भनेजस्तो एक वर्ष फेरि प्रयास गर्ने जाँगर चलाएनन्। छोराको निर्णय बाबुले सहज तरिकाले लिए।
'बाआमाले त आफ्नो सन्तानलाई जहिले पनि राम्रै गरोस् भन्नेतिरै जान्छ नि । अनि पत्रकारिता छोडेको भन्ने अर्थ लागेन । यो पढाइकै चरणमा त्यता गयो भन्ने अर्थ लाग्यो। र मैले पत्रकारिता छोडिन पनि। अहिल म यही सम्बन्धित पेसामा छु भन्ने महसुस गर्छु। यता पनि मिडिया नै हो, सिनेमा पनि मिडिया नै हो। त्यसैले ट्र्याकभन्दा बाहिर गएर काम गरेको छु जस्तो लाग्दैन। मैले मेरो पढाइलाई, रंगमञ्चलाई , सिनेमालाई मिडियाको हिसाबले लिन्छु', उनले भने।
जीवन र जगत धेरै देखिसकेका बाबुहरुको छोराछोरी यता गैदियोस्, यस्तो गरिदियोस् भन्दाभन्दै अर्को बाटो समातिरहँदा त्यो कुरा कुनै न कुनै बिन्दुमा आएर पोखिन्छ नै।
प्रविणको हकमा त्यस्तो गम्भीर ढंगले पोखिएन। एक-दुईपटक मुश्किलले राखेको प्रविण बताउँछन्।
'त्यो पनि उहाँ आफ्नो केही तनावमा आउनुहुँदा प्रस्तुत हुनुभएको होला। तिमीहरुले पढेरचाँहि नखाने भयौं केटाहरु भन्ने खाले कुरा थियो। तर अहिले आएर बुझ्दा हामी पढेरै खाइरहेका छौं भन्ने लाग्छ। त्यसरी ठाडो गाली खाएको मेमोरीमा छैन।'
अहिले कान्छोप्रति बाबुको धारणा सकारात्मक छ। बाबुलाई लागेको छ- कुनै दिन यल्ले फिल्म पनि निर्देशन गर्छ। 'बुवाले यसले गरिखायो भन्ने हिसाबले नै लिनुभएको छ', उनले भने।
000
प्रविण सिनेमा, रंगमञ्चमा त व्यस्त छँदैथिए। यसबीच उनी ' कथासंग्रहमार्फत् लेखक पनि बनेका छन्।
यी तीन कुरामा पनि प्रविण आफू अभिनेता बन्दा ज्यादा खुलेको महसुस गर्छन्। अरु काम भन्दा अभिनय सहज लाग्छ प्रविणलाई। अभिनयमै रमाउँछन् उनी।
उनलाई निर्देशनचाँहि अलि भारीभर्कम लाग्छ।
'निर्देशन अलि भारीभरकम्प काम रैछ। अरुको पनि बोझ उठाउनुपर्नेरैछ। अर्को आयामको पनि। खेल्न मात्र पाउँदा खुशी हुन्छु। संगसँगै लेख्नेचाँहि जोडिएर आउने कुरा रैछ। यसो टाकनटुकन, एउटा कथा संग्रह निकाल्न भ्याएँ।'
काम चर्चा र व्यस्तताले उनका साथीहरु उनीभन्दा केही अगाडि छन्। यो कुरालाई हेर्दा प्रविणलाई आफू पछि परेको भनेर बुझ्दैनन्।
उनका अनुसार यो आ-आफ्नो यात्रा हो। त्यसैले यहाँ कोही अघि कोही पछि हुँदैनन्, हुन्छन् त केबल आ-आफ्नो यात्रामा।
'लाग्दैन। आफ्नोआफ्नो यात्रा रैछ जस्तो लाग्छ। मलाई त्यो यात्रा नजुरेको मात्रै हो। तर मेरो यात्राको हिसाबले म झन सबल छु जस्तो लाग्छ। किनकि मेरो साथीहरु जो सफल हुनुहुन्छ, उहाँ मजस्तो झ्याप्पै नाटक निर्देशनमा उत्रनुहुन्न। मैले जस्तो झ्याप्पै किताबले खेर छाप्ने ठाँउमा हुनुहुन्न। तर म त तीन वटै आयाममा चुस्तदुरुस्त चलिरहेको छु। त्यस हिसाबले आफू सबल छु जस्तो लाग्छ झन मलाई त?'
शुक्रबारबाट उनी प्रमुख अभिनेता बनेर सिनेमा हलमा झुल्किएका छन्। 'मनसरा'का यी दधिराम पोखरेलले प्रिमियरमा ब्यापक प्रशंसा बटुलेका छन्। अब प्रविण दर्शकको आशीर्वादको पर्खाइमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।