काठमाडौं– नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले मुलुकको निकासका लागि राजसंस्थासहित सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् ।
ललितपुरको झम्सिखेलमा आइतबार पत्रकार सम्मेलन गरेर उनले राष्ट्रको समस्या राजनीतिक दलहरू भित्रबाटै समाधान गर्नुपर्ने र राजसंस्थासहित सर्वपक्षीय संवाद गर्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रको समस्या राजनीतिक दलहरू भित्रबाटै समाधान गर्नुपर्छ । निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत् अगाडि बढ्नुपर्छ,’ नेता श्रेष्ठले भने, ‘राजसंस्थालगायत, परम्परागत शक्ति, राजनीतिक दलहरू, जेनजी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ ।’
मुलुकको आन्तरिक समस्याको समाधानमा बाह्य हस्तक्षेप हुन नदिन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । ‘राष्ट्रहित, सार्वभौमसत्ता र राष्ट्रिय चाहनालाई सर्वोपरि राख्दै आन्तरिक संकटको समाधानमा बाह्य हस्तक्षेपबाट मुक्त रहन हामीले सर्वपक्षीय भेला गरेर समाधान निकाल्नका लागि अब ढिलाइ गर्नु हुँदैन,’ श्रेष्ठले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।