काठमाडौं– ओमानमा शुक्रबारदेखि सुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सर्वाधिक आशिफ शेखले ३२ रन बनाए भने रोहित पौडेलले २८ रन बनाए।
ओपनर कुशल भुर्तेलले २४ रनको योगदान दिँदा दिपेन्द्रसिंह ऐरीले २० रन जोडे। यस्तै गुल्शन झाले १९ रन बनाउँदा सन्दीप जोराले १२ रन जोडे।
मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने मोहम्मद वाफिक र पवनदीप सिंहले एक/एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो। मलेसियाका लागि ओपनर विरेनदीप सिंहले उत्कृष्ट अर्धशतकीय पारी खेले। ५६ बलको सामना गरेका उनले नटआउट ७२ रन बनाए। जसमा उनले चार चौका र चार छक्का प्रहार गरेका थिए।
यस्तै मलेसियाका शरवीन मुनिन्देले ४१ रन बनाए भने मोहम्मद अमिरले १६ रन बनाए। सायद अजिजले ६ रन बनाउँदा नज्मुस सकिबले नटआउट ३ रनको योगदान दिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा मात्र १४ रन खर्चिँदै २ विकेट लिए। अविनाश बोहोराले चार ओभरमा २८ रन खर्चिएर एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।