काठमाडाैं- जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये तेस्रा प्रहरी अधिकृत पनि साधारण तारेखमा छुट्ने भएका छन्।
उच्च अदालत मोरङले मंगलबार प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न आदेश दिएको हो। न्यायाधीशद्धय नागेन्द्र लाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो।
यसअघि गत शुक्रबार मात्र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो। अदालतले आइतबार अर्का अभियुक्त डिएसपी प्रजित केसीलाई रिहा गर्न आदेश दिएको थियो।
जिल्ला अदालत मोरङको आदेशलाई चुनौती दिँदै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए। उनीहरुमध्ये तीन जनाको निवेदनमात्र सुनुवाई भएको छ। अन्य २३ निवेदन सुनुवाई हुने क्रममा छन्।
जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका त्रुटिपूर्ण आदेश बदर भई साधारण तारेखमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालतमा १७ नम्बरको निवेदन दायर गरेका थिए।
तल्लो अदालतको फैसला चित्त नवुझेमा माथिल्लो अदालतमा निवेदन दायर गर्न पाउने व्यवस्था १७ नम्बर निवेदन हो।
जिल्ला अदालतले सबै अभियुक्तलाई थुनामै पठाएपछि उनीहरु उच्च अदालत पुगेका थिए। असार ५ गतेदेखि अभियुक्तहरुले उच्च अदालतमा निवेदन दायर गरेका थिए।
यसरी निवेदन दर्ता गर्नेमा एसएसपी लोहनी, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र भुजुङ गुरुङ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।