काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले र सरकारकाबीचमा द्वन्द्व सुरु भएको छ। आयोगले गरेको सचिव सिफारिस सरकारले फिर्ता गरेपछि सरकार र आयोगकाबीचमा द्वन्द्व देखिएको हो।
रिक्त आयोगको सचिवमा आयोगभित्रै विवादकाबीचमा मुरारी खरेलको नाम सिफारिस भएको थियो। एक आयुक्तले असहमति राख्दै गर्दा उनको नाम सिफारिस भएको थियो।
आयोगले सचिव बढुवाका लागि गरेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत १४ गते फिर्ता गर्दै पुन: सिफारिस गर्न भनेको थियो। आयोगले गरेको सिफारिस अस्वीकार गरेको करिब दुई सातापछि आयोगको बैठकले फेरि खरेलकै नाम सिफारिस गरेपछि सरकार र आयोग आमुन्ने सामुन्ने हुने देखिएको छ।
आयोगको सिफारिस पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुनबमोजिम नभएको ठहर गर्दै मन्त्रिपरिषद् कार्यालयले कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको थियो। तर आयोगका बहुमत पदाधिकारीको बैठकले सरकारसँग सिफारिस फिर्ता गर्ने अधिकार नभएको भन्दै फेरि सिफारिस गरेको हो।
आयोगको आइतबार बसेको बैठकले बहुमतका आधारमा खरेललाई नै सचिव नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष तपबहादुर मगरले बताए। खरेल नै सचिवका लागि योग्य भएको भन्दै अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरू लिली थापा, डा सूर्य ढुंगेल र मनोज दुवाडीले हस्ताक्षर गरेका छन्।
तर सदस्य मिहिर ठाकुरले भने फरक मत राखेर उनको नाम सिफारिस हुन नहुने अडान राखेका छन्। यसअघि पनि उनले यही अडान राखेका थिए। सचिव पदका लागि यज्ञप्रसाद अधिकारी, मुरारिप्रसाद खरेल र डा टीकाराम पोखरेल प्रतिस्पर्धामा थिए।
सदस्य ढुंगेल नेतृत्वको बढुवा सिफारिस समितिले अधिकारी र खरेलले बराबर अंक पाएको देखाएको थियो भने पोखरेलको केही कम पाएकाले उनलाई सिफारिस गर्न नहुने ठाकुरको तर्क थियो। ठाकुरले खरेलमाथि अन्य आरोप पनि लगाएका थिए।
तर अध्यक्षसहित बहुमत सदस्यले आफ्नो सिफारिस फर्काएपछि अब इगोको रुपमा पुन: सिफारिस गरेको आरोप ठाकुरले लगाए। अब पुन: सिफारिसमा प्रधानमन्त्री कार्यालयले गर्ने निर्णयको आधारमा मात्र आयोगले सचिच पाउने वा नपाउने निर्णय हुने देखिएको छ।
यदि प्रधानमन्त्री कार्यालयले पुन: फर्काएमा के हुने भन्ने अन्योल देखिन्छ। आयोगका अध्यक्ष मगरले भने आफूहरुको सिफारिस नै अन्तिम भएकाले सोही अनुसार सरकारले फर्काउने भन्दा नियुक्ती दिएर पठाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।