काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले सचिव बढुवाका लागि गरेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अस्वीकार गरेको छ।
आयोगको सिफारिस पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुनबमोजिम नभएको कारण देखाउँदै मन्त्रिपरिषद् कार्यालयले कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको हो।
कार्यालयले आयोगलाई पत्राचार गरी अर्को सिफारिस गर्न पनि भनेको छ। ‘राष्ट्रिय मानव अधिकार आयोग जस्तो गरिमामय संवैधानिक निकायमा नियुक्त हुने सचिवका सम्बन्धमा पारदर्शी रूपमा, विवादरहित, योग्यता प्रणालीको प्रतिकुल नहुने गरी कानुन बमोजिम आयोगको सचिव नियुक्तिका लागि सिफारिस भई आउनुपर्नेमा प्राप्त कागजात अध्ययन गर्दा आयोगको मिति २०८० कात्तिक १३ गतेको निर्णय सोबमोजिम सिफारिस भई आएको देखिएको छैन,’ आयोगलाई लेखिएको पत्रमा उल्लेख छ, ‘यसर्थ निष्पक् षरूपमा पारदर्शिता अपनाई कानुनबमोजिम सिफारिस भई आएमा मात्र सिफारिस बमोजिमको प्रक्रिया अगाडि बढाउन सकिने जानकारी आयोगमा पठाउने भन्ने चैत ९ मा निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’
आयोगले गत कात्तिक १३ गते सचिव नियुक्तिका लागि सिफारिस पठाउने निर्णय गरेको थियो। सिफारिस अस्वीकृत भएपछि आयोगका पदाधिकारी र सिफारिस समितिमाथि नैतिक प्रश्न उठेको छ।
सचिव पदका लागि यज्ञप्रसाद अधिकारी, मुरारिप्रसाद खरेल र डा टीकाराम पोखरेल प्रतिस्पर्धामा थिए। उनीहरू त्यहीँका सहसचिव हुन्। बढुवा सिफारिस समितिले अधिकारी र खरेलले बराबर अंक पाएको देखाएको थियो भने पोखरेलको केही कम पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।