काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गरेका छन्।
अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क समेत गरे।
मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले मुलुकको वर्तमान अवस्था कम्युनिष्ट र कांग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको दाबी गरे। अध्यक्ष थापाले जनताको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भएपनि सबै राजनीतिक दल सहमत हुने बताए।
उनले मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभई व्यवस्थाको कारण भएको तर्क गरे।
अध्यक्ष थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने विश्वास पनि व्यक्त गरे। उनले पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न निर्देशन दिए।
२ दिनसम्म चल्ने केन्द्रीय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राष्ट्रिय प्रजातन्त्र पाटीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।