काठमाडौं– चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट निश्चित हुन सकेको छैन। यद्यपी काठमाडौंबाट उड्नुअघि अध्यक्ष्य प्रचण्ड यही अपेक्षासहित चीन प्रस्थान गरेका थिए।
‘काठमाडौंमा रहेको चिनियाँ दूतावासले अध्यक्षलाई राष्ट्रपति सीसँग भेटको तारतम्य मिलाउन सकिने बताएको थियो’ प्रचण्ड निकट एक नेताले नेपाल लाइभसँग भने, ‘बेइजिङस्थित नेपाली दूतावासले पनि अन्तिमसम्म भेटका लागि पहल गरिरहेको जानकारी आएको छ।’
अध्यक्ष प्रचण्ड आज चीनको नान्जिङमा छन् जहाँ उनले आजै चिनियाँ उपराष्ट्रपति वाङ क्वीसानसँग भेट गर्दैछन्। दुई देशबीच भएका पुराना सहमति र सम्झौताहरुको कार्यान्वयनको लविङका लागि भन्दै चीन उडेका प्रचण्डले उपराष्ट्रपति वाङसँग यही विषयको सेरोफेरोमा कुराकानी गर्ने बताइएको छ।
राष्ट्रपति सी चिनफिङसँग भेटघाटको समय पाएमा अध्यक्ष प्रचण्ड नान्जिङबाट बेइजिङ पुग्नेछन्। भेटघाटको समय नपाएमा भने उनी बेइजिङ नपुगी नेपाल फर्कने छन्।
यता, अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विविध विषयमा आलोचित भइरहेका बेला अध्यक्ष प्रचण्डले भारत भ्रमणपछि लगत्तै चीनको भ्रमण गरेका हुन्। भारतमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायत त्यहाँका उच्च नेताहरु तथा सुरक्षा सल्लाहकारलाई भेटेका थिए।
प्रचण्ड चीन भ्रमणमा नै रहेका बेला नेकपाका अर्का नेता नेता नारायणकाजी श्रेष्ठले नेतृत्व एक राजनीतिक टोली मंगलबार मात्र बेइजिङ पुगेको छ। बेइजिङमा श्रेष्ठ र उनको टोलीसँग चिनियाँ मन्त्रीहरुले भेट्ने कार्यक्रम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।