काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेलगत्तै नेपाली कांग्रेसका पूर्वसांसद तथा लामा कन्स्ट्रक्सनका सञ्चालक जिपछिरिङ लामासहित आधा दर्जन व्यवसायीलाई फिरौतीका लागि धम्की आएको खुलेको छ।
एक निर्माण व्यवसायीका अनुसार इन्टरनेट कलमार्फत लामा र क श्रेणीका ठेकेदारहरुलाई ‘तिमीहरुको अध्यक्षको हालत देखिहाल्यौ, पैसा ठिक पारेर राख्नू’ भन्दै अज्ञात व्यक्तिले कल गरेका थिए।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई हत्याको जिम्मेवारी लिन फोन गर्ने मनोज पुन समूहले नै निर्माण व्यवसायीलाई समेत फिरौतीका लागि फोन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। एसएसपी धानुकलाई आएको कलको लोकेसन पत्ता नलाग्दा घटनाको अनुसन्धान समेत प्रभावित भएको एक वरिष्ठ प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए।
संलग्न चारको स्केच तयार
गौचन हत्याकाण्डका प्रत्यक्षदर्शीको सहयोगमा घटनामा संलग्न चार जनाको स्केच प्रहरीले तयार गरेको छ। प्रहरी उच्चस्रोतका अनुसार घटनाको केही समयअघि प्रयाग चोक र भीमसेनगोलामा चार जनाको समूहले योजना बनाएर गौचनको हत्या गरेको हो। घटनाको प्रकृति र प्रयोग भएको हतियारले हत्यारा समूह व्यावसायिक भएको पत्ता लागेको हो।
घटनाको अनुसन्धान गरिरहेको टोलीले गौचन हत्याभन्दा केही समयअघि मात्र खोलिएको हुलाकी राजमार्गको १० अर्ब बराबरको ठेक्का, सिरहा सडक ठेक्का लगायतका ठूला टेन्डरको विवरण समेत मगाएर अनुसन्धान गरिरहेको छ। अनुसन्धान टोलीमा महानगरीय प्रहरीका डिआइजी गणेश केसी र केन्द्रीय अनुसन्धान ब्युरोका शेरबहादुर बस्नेतको टिम संलग्न छ। अनुसन्धानमा गौचनको हत्याको मुख्य कारण ठेक्काको आपसी लेनदेन हुन सक्ने प्रहरीले आशंका गरेको छ।
'प्रत्यक्षदर्शीको बयानका आधारमा घटनामा संलग्नको स्केच बनाइसकेका छौं,' डिआइजी केसीले भने, 'पहिचान खुलेपछि हामी सार्वजनिक गर्नेछौं।'
अध्यक्ष गौचनलाई सोमबार अपराह्न मोटरसाइकलमा आएका अज्ञात दुई जनाले गोली प्रहार गरी हत्या गरेका थिए। घटनामा नाइन एमएम पेस्तोलको प्रयोग भएको थियो। प्रहरीले हत्याराले प्रयोग गरेको मोटरसाइकलको समेत पहिचान गरेर अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।