काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्याइने छ ।
एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका ५ तथा ललितपुर र भक्तपुरका १–१ विद्यालयमा कार्यक्रम आयोजना गरिनेछ । पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पुर्याइनेछ। पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए । “चार वर्षपछि ए डिभिजन लिग शुरु हुँदैछ, चार वर्षदेखि फुटबल गतिविधि सुस्त थियो, फुटबल खेलप्रति आकर्षित गराउन ट्रफ्री टुरको आयोजना गरेका हौँ”– पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका संयोजक शर्माले भने । ‘स्कोर अ गोल’ नाम दिई रङ्गशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी थिए।


शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो। त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ए डिभिजन लिग ट्रफी’ नामाकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ।
शहीद स्मारक ए डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गरेका थिए। उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन्। ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन्। उक्त उपाधि हालसम्म मनाङ् मस्र्याङ्दी क्लबले सबैभन्दा बढी (विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सात पटक जितेको छ।
यस्तै रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६ पटक, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८) पाँच पटक, थ्री स्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच पटक, महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन पटक, सङ्कटा क्लबले (२०३७, २०४० र २०४२) तीन पटक, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले १–१ पटक उपाधि जितेका छन्। विसं २०७० यता भने शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।