काठमाडौं– वरिष्ठ गायक एवं संगीतकार स्व भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। सोमबार निधन भएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली अर्पण गर्न पुगेका कलाकार नीर शाहले स्व आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा मक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए। उनले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गरे।
उनले संगीतको विकासका लागि सचेत मानिसको श्रेणीभन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व आचार्य रहेको बताए। यस्तै कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडे पनि उनका सिर्जना सधैं नेपालीमाझ अमर भइरहने बताए। संगीत विश्वविद्यालयको देहावसान भएको उनको भनाइ थियो
आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य विगत लामो समयदेखि अस्वस्थ थिए। आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिएका छन्। स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका हुन्। नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।