काठमाडौं– संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले स्थानीय तह अरबियन घोडाजस्तो भएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले भने– सरकारले घरघरमा सिंहदरबार बनाउने उद्देश्यका साथ स्थानीय सरकारलाई मजबुत बनायो। स्थानीय सरकार अहिले करको आतंकदेखि लिएर गाडी, बुलेट मोटर साइकल, लिएर मोबाइल आतंकमा पुगेको छ। स्थानीय सरकार अरबियन घोडाजस्तो भएको छ।
यादवले स्थानीय तहका प्रमुख र उपप्रमुख अहिले कसैको बशमा नभएको आरोप पनि लगाए। 'उनीहरु न नेपाल सरकारको बशमा छन्, न प्रदेश सरकारको। जथाभावी कर आतंक फैलाएर जनतालाई दुःख दिने काम भएको छ तर त्यसको निगरानी नेपाल सरकारबाट भइरहेको छैन', उनले भने, 'जुनसुकै तहबाट भएको विकास निर्माणको कामका लागि अनुगमन गर्न संसदबाट अनुगमनको कानुन बनोस् भन्न चाहन्छु।'
च्याउजस्तै विज्ञ जन्मिए
यादवले निजगढ विमानस्थलको काम रोक्न च्याउ उम्रेजस्तो विज्ञको जन्म भइरहेको आरोप लगाए। 'अहिले निजगढ विमानस्थलको कुरा उठिरहेको छ। त्यो विमानस्थलको काम दुई वर्षदेखि सुरु भएको छैन। तर जब सरकारले कामको थालनी गर्न लाग्यो तब संसददेखि बाहिरसम्म निजगढ विमानस्थलको काम रोकियोस् भनेर विभिन्न षडयन्त्र भइरहेको छ। च्याउ उम्रेजस्तो विज्ञको जन्म भइरहेको छ', उनले भने।
यादले कुनै पनि बाहनामा निजगढ विमानस्थलको काम नरोक्न आग्रह गरे। 'रुख जति रोपेर भए पनि विमानस्थलको काम नरोकोस् भन्ने आग्रह गर्न चाहन्छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।