लन्डन– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट फर्ममा रहेको वाटफोर्डमाथि २–१ को जित हात पारेको छ। शनिबार भएको खेलमा म्यानचेस्टरसँग पराजित भएसँगै सुरुवाती चार खेलमा जित हात पारेको वाटफोर्ड चौथो स्थानमा झरेको छ।
म्यानचेस्टरका लागि रोमेलु लुकाकुले ३५ र स्मलिङले ३८ मिनेटमा गोल गरे। वाटफोर्डका लागि आन्द्रे ग्यारीले ६५ मिनेटमा गोल फर्काएपछि त्यो सान्त्वनामै सीमित बन्यो। नेमान्जा माटिक दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि खेलको अन्त्यमा म्यानचेस्टर १० खेलाडीमा सीमित बन्यो।
लिगको अन्य खेलमा शीर्ष स्थानको चेल्सीले कार्डिफ सिटीलाई ४–१ गोलले हराएको छ। चेल्सीका लागि इडिन हजार्डले ह्याट्रिक गरे। उनले खेलको ३७, ४४ र ८० मिनेटमा गोल गरेका थिए। चेल्सीका लागि विलियनले ८३ मिनेटमा चौथो गोल गरे। खेलमा अग्रता भने कार्डिफले १६ मिनेटमा बाम्बाको गोलबाट लिएको थियो।

यता साविक विजेता म्यानचेस्टर सिटीले फुलह्यामलाई ३–० गोलले हराएको छ। सिटीका लागि लिरोए सानेले दोस्रो मिनेट, डेभिड सिल्भाले २१ मिनेट र रहिम स्टर्लिङले ४७ मिनेटमा गोल गरेका थिए।
आर्सनलले पनि न्युकासललाई २–१ गोलले हराएको छ भने क्रिस्टलले प्यालेसले हडर्सफिल्डलाई १–० गोलले पराजित गरेको छ। वर्नमाउथले लेस्टरलाई ४–२ले हरायो।
लिगमा पाँच चरणको खेल जारी शीर्ष स्थानको चेल्सीको १५, दोस्रो स्थानको लिभरपुलको पनि १५, तेस्रो स्थानको म्यानचेस्टर सिटीको १३, चौथो स्थानको वाटफोर्डको १२ र पाँचौ स्थानको वर्नमाउथको १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।