काठमाडौं– गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षीया रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन्।
शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्साहनको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन्।
सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु।’
मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्तिकरणी र हत्या नै भएको दाबी गरेका छन्। ठूलो बा नेपालीले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको दाबी गरे।
घटना भएको पुष १ गते राति ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने, ‘मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन।’
के हो घटना?
गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदी नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफूलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखि पोइली घरसम्म छोड्न २ नम्बर वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतको गाडीमा गएका थिए।
सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारैजना किशोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा निज रावतले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि गाडिमै फर्काएका थिए।
त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कारपछि हत्या गरेर झुण्ड्याएको परिवारको आरोप छ। घटनालगत्तै छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए।
पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको थियो। त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक रेजिनाको ठूलो बुबा सुरेन्द्र नेपालीको भनाइ छ।
प्रहरीले आफूले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन्। प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ। पोष्टमार्टम रिपोर्टमा समेत आफूहरुको असन्तुष्टि रहेको उनको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।