लन्डन– इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार पाँचौ खेलमा जित निकालेको छ। लिगमा शतप्रतिशत जित निकाल्ने क्रममा लिभरपुलले शनिबार भएको खेलमा टोटनह्यामलाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गरेको छ।
लिभरपुलको जितमा जिओजिनियो विज्नाल्डमले ३९ मिनेटमा पहिलो गोल गरे। उनको हेडरलाई गोल लाइन प्रविधिबाट गोल दिइएको थियो।
५४ मिनेटमा रोबर्टो फिर्मिनोले दोस्रो गोल गरे। उनले क्लोज रेन्जबाट उत्कृष्ट गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा टोटनह्यामले गोल फर्काउदा खेल २–१ को स्थितिमा आयो। इरिक लामेलाले अन्तिम समयमा गोल गरेपनि टोटनह्यामलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
योसँगै ५ खेलमा १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। टोटनह्यामले ५ खेलबाट ९ अंक जोडेको छ। पाँचौ स्थानमा रहेको टोटनह्यामले सन् सन् २०१५–१६ सिजन पछि पहिलो पटक लगातार दोस्रो खेलमा पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।