काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी विरुद्ध अरिंगालझै खनिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृतिमा आयोजित कार्यक्रममा ओलीले प्रतिक्रियावादीहरुको हमलाको विरुद्ध एकजुट भएर जवाफ दिन आग्रह गरे। तर आफूहरुमा एउटालाई हमला गर्दा अर्को मुस्कुराउने प्रवृत्ति रहेको भन्दै आलोचना गरे।
हामी कस्ता छौं भने केही कुरामा चित्त बुझेन भने प्रतिक्रियावादीहरुको हमलालाई जवाफ दिँदैनौ। प्रतिक्रियावादीले हमला गर्यो भने यसो हेर्यो, ए प्रचण्डलाई हमला गरेको रहेछ भनेर ठीकै भएछ भन्छौं। म मुस्कुराउँछु। मलाई हमला गरेको बेलामा पनि केपी ओलीलाई रहेछ भनेर प्रचण्ड मुस्कुराउनुहुन्छ', ओलीले भने, 'यस्तो गर्दै गयौं भने प्रतिक्रियावादीहरु उत्साहित हुन्छन्। जनतामा निराशा पैदा हुन्छ। त्यसकारण हामी एकजुट भएर लाग्नुपर्छ। एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ। तर हाम्रो अरिंगालको जति पनि बुद्धि छ कि छैन? त्यो चाहिँ हामीले हेर्नुपर्छ। एउटा अरिंगाल मार्यो भने त्यसलाई मार्यो ठीकै छ भन्छौं कि एक जुट भएर जान्छौं?'
ओलीले धमिराजस्तो एकताको भित्रभित्रै लाग्ने प्रवृत्ति खतरनाक भएकाले विरोध गर्नेपर्ने ओलीले जनाए।
ओलीले जनताको आत्मबल बढाउने खालको अभिव्यक्ति दिन आग्रह गरे। 'हाम्रा हरेक बोलीमा जनताको मनोबल खस्काउने, अविश्वास बढाउने, जनताको विश्वास डगमगाउने अथवा एकताप्रति विश्वास डगमगाउने अनि छुस्सछुस्स बिशाक्त कुराहरु छोड्दै जाने', उनले थपे, 'त्यस प्रवृत्तिले हामीलाई अगाडि बढाउँदैन।'
पार्टी एकता श्रीखण्ड वा खुर्पाको बिँड दुवै हुनसक्ने ओलीले बताए। 'नेपालीमा त्यही त भन्छन् नि', उनले भने, 'जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड। यसको सदुपयोग गर्यौं भने श्रीखण्ड बन्छ, सुवास फैलाउँछ, धर्तीभरि। जानेन भने खुर्पाको बिँड हुन्छ।'
उनले दुई पार्टी मात्रै नभई नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत भएको बताए। साथै भावनाले पार्टी एकता नहुने पनि उनले थपे।
आफूहरुले जनतालाई अलमलको दलदलबाट बाहिर निकाले बताए। 'फेरि अलमलमा फस्न दिनुहुँदैन', ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।