काठमाडौं– पाकिस्तानमा बिहीबार आम निर्वाचन भइरहेको छ। मतदानको दिन देशभर मोबाइल सेवा निलम्बित गरिएको छ।
पाकिस्तानको गृह मन्त्रालयले एक बयान जारी गर्दै शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अस्थायी रुपमा मोबाइल सेवा अवरुद्ध गरिएको बताएको छ। मन्त्रालयले आफ्नो वक्तव्यमा भनेको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गयो। कानुन एवम् व्यवस्थाको स्थिति कायम राख्न तथा सम्भावित चुनौतीको सामना गर्नका लागि सुरक्षा उपाय आवश्यक छ। यसकारण देशभर मोबाइल सेवालाई अस्थायी रुपमा बन्द गर्ने निर्णय लिइएको छ।’
पाकिस्तानको नेशनल असेम्बलीका ३३६ सिटका लागि बिहीबार मतदान भइरहेको छ। सरकार बनाउनका लागि १६९ सिटको आवश्यकता पर्दछ।
२ वर्ष अविश्वास प्रस्ताव ल्याएर तत्कालीन प्रधानमन्त्री इमरान खानको सरकारलाई विस्थापित गरिएको थियो। अहिले उनी भ्रष्टाचारको अभियोगमा जेलमा छन्। उनीविरुद्ध १४ वर्षको जेल सजाय सुनाइएको छ।
३ पटक देशको प्रधानमन्त्री बनेका नवाज शरीफ यसपटक पनि चुनावी मैदानमा छन्। निर्वाचनपछि पनि नवाजकै नेतृत्वमा सरकार गठन हुने लगभग पक्कापक्की छ। यद्यपि धेरै विश्लेषकहरुले भने अहिलेको चुनावलाई पाकिस्तानको इतिहासको सबैभन्दा कम विश्वसनीय चुनाव भनेका छन्।
पाकिस्तान अहिले आर्थिक संकटसँग जुझिरहेको छ। साथै, सन् २०२२ मा आएको भीषण बाढीले पुर्याएको क्षति, महङ्गी तथा चरमपन्थी घटनासँग पनि जुझिरहेको छ।
पाकिस्तानमा अहिले पनि हिंसा र चरमपन्थी घटनाहरु बढिरहेका छन्। आम चुनावभन्दा १ दिन अगाडि, बुधबार बलुचिस्तान प्रान्तमा उम्मेदवारहरुको घरको बाहिर बम आक्रमण भयो। उक्त आक्रमणमा कम्तीमा २८ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।