काठमाडौं– साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान भए पनि आवेदन नपरेको पाइएको छ। साझा यातायातले गत मंसिर २५ गते नै प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो।
साझा यातायात सहकारीले मंसिर २५ गतेको गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो। तर उक्त विज्ञापनअनुसार एउटा पनि आवेदन नपरेको सहकारीले जनाएको छ।
पहिलोपटक प्रकाशित सूचनाअनुसार आवेदन नपरेपछि साझा यातायातले पुन: विज्ञापन गरेको छ।

साझा यातायातको कार्यकारी अधिकृत पदका लागि आवेदन दिने व्यक्ति ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने कार्यविधि छ। साझा यातायात सहकारीले निर्धारण गरेको मापदण्डमा कार्यकारी अधिकृत पदका लागि कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्नेछ।
यस्तै, सार्वजनिक वा संगठित संघ संस्थामा दशौं तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको व्यक्ति हुनुपर्ने पनि मापदण्ड छ। सहकारी वा सार्वजनिक प्रशासन वा यातायातको व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने पनि मापदण्ड छ।
पुन: प्रकाशित भएको सूचनाअनुसार योग्यता पुगेका व्यक्तिले बुधबार (माघ १७ गते)देखि १५ दिनभित्र दरखास्त पेस गर्न सक्ने सहकारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।