काठमाडौं– संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन्।
उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन्। बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए। बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने उनको तर्क छ।
उनले बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राखे। संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे। यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिनसक्ने बताए।
त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताए। अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताए। पछिल्लो समय मानव र वन्यजन्तुकाबीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको बताए।
बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए। उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने दाबी गरे।
त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाइ छ। समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ। उनले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।