काठमाडौं– नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन्। सोमबार बिहान सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन हो? भन्दै प्रश्न गरे। छलफलमा रहेको विधेयक असाध्यै स्पष्ट ढंगले ल्याइएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याइएको देखिने बर्तौलाले टिप्पणी गरे।
प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरु अस्पतालहरुले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बर्तौलाले उल्लेख गरे। न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसकेको समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने उनको भनाइ छ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले एमबीबीएसको पढाइ किन सुरु गर्न सकिरहेको छैन? भन्दै प्रश्न गरे। प्रतिष्ठानले आफैँ स्वायत्त ढंगले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो? भन्ने प्रश्न पनि परियारले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।