काठमाडौं– राजश्व अनुसन्धान विभागले यूएसडीटी कोइन अभौतिक मुद्रा कारोबारीविरुद्ध १४ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो। यूएसडीटी कोइन कारोबाटको अनुसन्धान गरेका राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीले अनुसन्धान सम्पन्न गरी आज ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हुन्।
करिब पाँच महिनाको सुक्ष्म अनुसन्धानपछि झापाका शुभम कुमार यादव र रोहन चौधरीविरुद्ध मुद्दा दायर गरिएको अनुनसन्धान अधिकृत अधिकारीले जनाएकी दिए।
शुभम कुमारले बिनान्स एपको प्रयोग गरी पीटूपी च्यानको प्रयोगबाट अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धान बाट खुलेको छ। साथै उनले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको पनि खुलेको छ।
उनीहरुविरुद्ध विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदाबी गरी अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी नवराज अधिकारीले बताएका छन्।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अभौतिक मुद्राको कारोबारलाई राजस्व अनुसन्धान विभागले सुक्ष्म रुपमा अनुसन्धान गर्दै गरेको जानकारी दिएका छन्। पछिल्ला दिनहरुमा राजस्व चुहावट नियन्त्रणमा कृयाशिल राजस्व अनुसन्धान विभागले अभौतिक मुद्राको कारोबारको अनुसन्धानसमेत गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।