काठमाडौं– काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन्।
महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो।
उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन्।
व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन सुरु गरेका छन्।
महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए। उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गरे।
संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाए। उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताए।
उनले महानगरले एकोहोरो निर्णय लाद्ने काम गलत भएको बताए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनावश्यक रुपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम गरेको आरोप पनि लगाए।
आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको बताए।
उनले महानगरले सवारी साधन आउने संख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताए। व्यवसायीहरुले सडक आन्दोलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्,महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले, दुःख पाए साराले,व्यापारीलाई गरिखान दे,महानगरको पाराले दुःख पाए साराले,एकल निर्णय खारेज गर,स्ट्याण्डबाजी बन्द गर्,व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महानगरपालिकाको बिरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।