तस्बिर: रोयटर्स काठमाडौं– रुसले युक्रेनको राजधानी कियभ र दोस्रो ठूलो सहर खार्किभमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणहरु घाइते भएका बताइएको छ। दुवै शहरमा आवासीय भवनका साथै ग्यास पाइपलाइनमा क्षति पुगेको युक्रेनी अधिकारीहरुले बताएका छन्।
राजधानी शहर कियभका मेयर भिटाली क्लिट्स्को टेलिग्राम म्यासेजिङ एपमा उल्लेख गरेअनुसार राजधानीका सोलोमियांस्की र स्वियातोशिन्स्की क्षेत्रमा ७ जना घाइते भएका छन्। आक्रमणबाट धेरै अपार्टमेन्टमा आगो लागेको छ।
कियभका सैन्य प्रशासन प्रमुख सेर्ही पोप्कोले कियभसहित आसपासका क्षेत्रमा वायु रक्षा प्रणालीले रूसको मिसाइल हमलालाई विफल बनाउने प्रयास गरेको बताएका छन्।
राजधानीको पेचेर्स्क जिल्लामा रहेको एक गैरआवासीय भवनमा क्षति पुगेको एक अधिकारीले बताए। पोप्कोले राजधानीको मध्यपश्चिममा रहेको स्भियाटोसिनमा धेरै कारमा आगो लागेको बताए।
‘बलियो विस्फोट, हाम्रो घर ... हल्लिरहेको थियो थियो,’ सांसद इरिना गेरास्चेन्कोले टेलिग्राममा भने। समाचार संस्था रोयटर्सका संवाददाताहरुद्ये कियभ र वरपर धेरै विस्फोटका कम्पनहरु महसुस भएको रिपोर्ट गरेका छन्।
युक्रेनको उत्तरपूर्वी सहर खार्किभका मेयर इहोर तेरेखोभले रुसले आफ्नो सहरलाई पनि निशाना बनाएको बताए। ‘उनीहरू फेरि खार्किभमा प्रहार गर्दैछन्। त्यहाँ पहिले नै धेरै विस्फोटहरू भइसकेका छन्,’ उनले टेलिग्राममा भने।
खार्किभ सहरमा एउटा आवासीय भवनमा आक्रमण भएको उक्त क्षेत्रका गभर्नर ओलेह सिनेहुबोभले बताए। ‘त्यहाँ भग्नावशेषमा मानिसहरू छन्,’ उनले टेलिग्राममा भने।
शहरको प्रहरीले आक्रमणबाट ग्यास पाइपलाइनमा आगो लागेको बताएका छन्। आक्रमण तथा आक्रमणका कारण सिर्जित आगलागीबाट घाइते हुनेमा बालबालिका समेत रहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।