काठमाडौं– माओवादी केन्द्र र नेकपा (संयुक्त) बीच पार्टी एकता भएको छ। बुधबार बानेश्वरको बुद्धनगर पार्टी प्यालेसमा पार्टी एकतामा हस्ताक्षर भएको हो।
पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन्।
पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरुको बृहत् एकता र ध्रुवीकरण मार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिस्टहरुको काँधमा आएको बताए। प्रचण्डले भने, ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि खुसीको कुरा हो। हामी कम्युनिस्टहरुको एकता र ध्रुवीकरण मार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पूरा गर्नैपर्छ।’
अध्यक्ष प्रचण्डले थपे, ‘कतिपय कम्युनिस्ट नेता र अग्रजहरु मन्दिरमा घन्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं। निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं।’
एकता कार्यक्रममा नेकपा (संयुक्त)का अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी र क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिस्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताए। कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, दीनानाथ शर्मा, नेकपा (संयुक्त) का नेता सुनिल मानन्धर लगायतले बोलेका थिए। एकतासँगै नेकपा (संयुक्त) का तीन सांसद पनि माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन्।
एकता कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४ सय जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।