काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाएका छन्।
शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताए।
उनले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भए पनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पारे। एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरुले गरेको दाबी गरे।
उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए। उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए।
विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको एनआरएनएले जनाएको छ।
गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिव १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।