गुजरात- भारतको गुजरात, बडोदरास्थित हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १२ जना बालबालिका छन्।
डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए। बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन। यस विषयमा अनुसन्धान सुरु गरिएको जानकारी समाचार एजेन्सीहरुले दिएका छन्।
घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।
- एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।