काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रयोगविहीन बनेका २३ वटा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने दाबी गरेका छन्। जसका लागि नेपाल वायुसेवा निगमको क्षमता बढाउन साना जहाज संख्या आधा दर्जन पुर्याउने घोषणा समेत उनले गरे।
बुधबार मन्त्रालयमा आफ्नो नेतृत्वको एक वर्षको कार्य विवरण सार्वजनिक गर्दै उनले निगमले यतिखेर ३ वटा साना जहाज खरिदका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए।
हाल रहेका तीनमध्ये एक दशक अगाडिदेखि ग्राउन्डेड एउटा ट्वीन अटर जहाज एक महिनामै मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए।
‘सन् २०१२ बाट ग्राउन्डेड नेपाल वायुसेवा निगमको जहाज एक महिनामै मर्मत गरेर उडान गर्नेछौं। आधा दर्जन जहाज क्षमता बनाएर २३ वटै दुर्गम गन्तव्यमा पूर्ण सेवा दिनेछौं,’ उनले भने। यसैगरी उनले ३ वर्ष अगाडि ग्राउन्डेड ५ वटा चिनियाँ जहाज बिक्रीका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको पनि बताए।
धेरै पर्यटक भित्र्याउने उद्देश्यले दुई वटा न्यारोबडी जहाज लिजमा लिएर सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाइसकेको उनले बताए। निगमको जहाजमार्फत सिड्नी उडान र धार्मिक पर्यटन प्रवर्धनका लागि काठमाडौं-बैंगलुरु-कोलम्बो कनेक्टिङ फ्लाइट गर्ने योजना अगाडि बढाइएको सार्वजनिक गरे।
‘हिजो लम्पसार भएर सुतेको नेपाल वायुसेवा निगमलाई उठाउँदै छौँ। दौडिएका छैनौं, हिँड्दै छौं,’ किराँतीले भने। आफूले मन्त्रालयको नेतृत्व सम्हालेसँगै पहिलो तीन महिनामा साधारण सुधार अन्तर्गत पशुपतिनाथ क्षेत्र सरसफाइसँगै सरसफाइ निर्देशिकाबाट प्रारम्भ गरेको उनले बताए।
नेपाली वायुसेवालाई युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हट्नका लागि केके गर्नुपर्छ भनेर आएको सुझाव कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए।
आफूले जिम्मेवारी सम्हालेसँगै पशुपति हिन्दी विश्वविद्यालय, पर्यटन विश्वविद्यालय स्थापना अगाडि बढाउने, लुम्बिनीमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको, ६० वटा पुराना बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने प्रक्रिया अगाडि बढाएको मन्त्री किराँतीको दाबी थियो।
सरकारले घोषणा गरेको पर्यटन दशकको काम अगाडि बढाउनका साथै पर्यटन ऐन, सांस्कृतिक ऐन लगायत पर्यटन क्षेत्रलक्षित नयाँ नीति एक वर्षमा कार्यान्वयनमा ल्याउने तयारी गरिसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।