काठमाडौं– मंगलबार इरानले गरेको एउटा आक्रमणका कारण पाकिस्तान र इरानबीचको सम्बन्ध पुन: गम्भीर बनेको छ। उक्त आक्रमणको घटनाले ‘जस्तोसुकै परिणाम निम्त्याउन सक्ने’ भन्दै पाकिस्तानले इरानलाई चेतावनी दिएको छ।
आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्दै इरानले गरेको आक्रमणका कारण २ जना बालक मारिएका पाकिस्तानले जनाएको छ। इरानले भने अतिवादी संगठन जैश अल–अद्लसँग जोडिएको क्षेत्रमा आक्रमण गरिएको दाबी गरेको छ।
इरानले यो हमला त्यतिबेला गर्यो जब पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल–हक कक्कडले डाभोसमा इरानी विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए। डाभोसमा जारी वर्ल्ड इकोनोमिक फोरममा पाकिस्तानी प्रधानमन्त्री र इरानका विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियानबीच भेटवार्ता भएको थियो। यद्यपि २ नेताको बीचमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
इराक र सिरियापछि पाकिस्तान तेस्रो देश बनेको छ जहाँ इरानले पछिल्ला दिनमा आक्रमण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले बुधबार एक बयान जारी गर्दै इरानलाई चेतावनी दिएको छ, ‘विना उक्साहट हाम्रो हवाई क्षेत्रको उल्लंघन गर्ने र देशभित्र हमला गर्ने कार्यको हामी निन्दा गर्दछौँ।’
विदेश मन्त्रालयले भनेको छ, ‘यो पाकिस्तानी सम्प्रभुताको उल्लंघन हो र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।’
त्यस अगाडि इरानको सरकारी मिडियाले इरानी रिभोलुस्नरी गार्डले पाकिस्तानमा रहेको चरमपन्थीको क्षेत्रमा हमला गरेको खबर सार्वजनिक गरेको थियो। यद्यपि पाकिस्तानका सामाजिक सञ्जालहरुमा उक्त हमला बलुचिस्तान प्रान्तमा भएको दाबी गरिएको छ।
पाकिस्तानको पूर्वी सीमा इरानसँग जोडिन्छ। दुवै देशबीच करिब ९०० किलोमिटर सीमा जोडिएको छ।
इरानको पूर्वी सीमामा सिस्तान बलुचिस्तान प्रान्त छ जो पाकिस्तानको पश्चिमी बलुचिस्तान प्रान्तसँग जोडिएको छ। यहाँको सीमावर्ती क्षेत्रमा निकै पातलो मात्रै बस्ती छ।
पाकिस्तानले चेतावनी दिएको विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इरानी सेनासँग जोडिएको एउटा समाचार एजेन्सीले मंगलबार इरानले चरमपन्थी समूह जैश अल–अद्लसँग जोडिएको दुई वटा क्षेत्रमा हमला गरिएको बताएको थियो। इरानी सरकारी एजेन्सी आईआरएनएका अनुसार पाकिस्तानमा भएको हमलाका लागि मिसाइल तथा ड्रोनहरुको प्रयोग गरिएको थियो।
सरकारी मिडियाहरुले चरमपन्थी संगठनको मुख्यालयलाई केन्द्रित गरेर उक्त हमला गरिएको दाबी गरेका छन्। मिडिया रिपोर्टहरुमा उक्त मिसाइल हमला पाकिस्तानको दक्षिण–पश्चिममा बलुचिस्तान प्रान्तको एउटा गाउँमा गरिएको बताइएको छ। उक्त क्षेत्रमा पाकिस्तान र इरान दशकौंदेखि जैश अल–अद्ल समेत अन्य चरमपन्थी गुटसँग लडिरहेका छन्।
सीएनएनमा छापिएको समाचारअनुसार जैश अल–अद्लले मंगलबार अबेर राति मात्रै उक्त हमलाबारे प्रतिक्रिया दिएको छ। उक्त हमलाका लागि इरानी रिभोलुस्नरी गार्डले ६ पटक ड्रोन र कयौं मिसाइलबाट आक्रमण गरेको जैश अल–अद्लले बताएको छ।
आक्रमणबाट २ वटा घर ध्वस्त भएका बताइएको छ। जसमा जैश अल–अद्लका लडाकुका श्रीमती तथा बालबालिकाहरु बस्ने गरेका थिए।
टेलिग्राममार्फत् एक बयान जारी गर्दै जैश अल–अद्लले हमलाबाट २ जना बालबालिकाको मृत्यु भएको र ३ जना घाइते भएका बताएको छ। घाइते हुनेमा २ महिला र एउटा बालिका छन्। बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ।
अमेरिकाको डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सका अनुसार जैश अल-अद्ल नामको समूह इरानको सिस्तान-बलुचिस्तानमा ‘सबैभन्दा सक्रिय र प्रभावी’ सुन्नी चरमपन्थी संगठन हो।
यो संगठनको नाम कुनै समय जुनदल्लाह थियो। सन् २०१२ मा उक्त संगठनले आफ्नो नाम फेरेको थियो। यसलाई ‘पिपुल्स रेजिस्टेन्स अफ इरान’ पनि भनिन्छ।
अब्दुल मलिक रेगीले सन् २००२ या २००३ मा यो संगठन खोलेका थिए र उनी कयौं वर्षसम्म यो संगठनको नेता रहे।
यो संगठन २००३ सालमा चर्चामा आएको थियो। त्यतिबेला उसले इरानका धेरै सरकारी इलाकालाई लक्षित गरेर कयौं आक्रमण गरेको थियो। साथै इरानका पूर्व राष्ट्रपति महमूद अहमदिनेजादको हत्या प्रयास समेत गरेको थियो।
१८ अक्टुबर २००९ मा यो समूहले इरानको पिसिन शहरमा एउटा आक्रमण गरेको थियो। इरानले भनेको थियो कि पाकिस्तानबाट सीमा पार गरेर आएका १ जना आत्मघाती आक्रमणकारीले इरानी बलोच कबिलाई नेताहरुको एउटा बैठकमा विस्फोट गरेका थिए। उक्त बैठकमा इरानी रिभोलुस्नरी गार्डका वरिष्ठ कमान्डर पनि सहभागी थिए।
उक्त हमलामा इरानी रिभोलुस्नरी गार्डका डेपुटी कमान्डर नूर अली सुस्तारीको मृत्यु भएको थियो। मारिएका कमान्डर सुस्तारी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका विश्वासपात्र मानिन्थे।
सोही हमलाले पाकिस्तान र इरानबीचको सम्बन्धको दिशा बदलेको थियो।
यो संगठनका संस्थापक नेता अब्दुल मलिक रेगीलाई इरानले गिरफ्तार गर्यो र सन् २०१० मा मृत्युदण्ड दिइयो। त्यसपछि यो समूह धेरै हिस्सामा विभाजित भयो। जसमध्ये जैश अल-अद्ल अहिले सबैभन्दा प्रभावी भएर आएको बताइन्छ। –एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।