काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्य वस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।
उनले ग्राहकहरूको रूची र चाहनाअनुसारको खाध्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिए।
राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए। उनले भने, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु।’
उनले पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारमो रुपमा स्थापित गर्नुपर्दछ। यसवर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।