काठमाडौं– विधान मस्यौदाबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ।
आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ। सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने उनले बताए।
माओवादी केन्द्रले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाइएको थियो। उक्त समितिले शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो।
बैठकमा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षा हुनेछ। प्रदेश इञ्चार्जले अभियानका बारेमा जानकारी गराउने बताइएको छ।
माओवादी केन्द्रले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।