काठमाडौं– पर्यटन ऐन २०३५ व्यापक संशोधन गरिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन संशोधनका लागि तयार पारेको मस्यौदामाथि बुधबार सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुसँग छलफल चलाइएको थियो।
करिब पाँच घण्टा लामो छलफलमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयका बारेमासमेत छलफल गरिएको छ। यससँगै अधिकांश विश्व सम्पदा सूचीमा सूचीकृतबाहेक सवै क्षेत्र विकासकोष र समितिलाई प्रदेशमा पठाउनेबारे पनि छलफल चलाइएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यवस्था परिवर्तन भए पनि ऐन र कानुन पुरानो भएका कारण अपेक्षित नतिजा निकाल्न असहज भएको बताएका छन्।
मन्त्री किराँतीले भने, ‘लोकतान्त्रि संघीय गणतन्त्रलाई संस्थागत गर्न जरा भुँई तहसम्म हाल्नका अन्तर्राष्ट्रिय कुट्नितिक महत्त्व राख्ने बाहेकका अधिकांश क्षेत्रअधिकार प्रदेशमा हस्तान्तरण गर्नुपर्छ।’
ऐन संशोधनका लागि यसपछि निजी क्षेत्र र सरोकारवालासँगसमेत छलफल गरिने मन्त्री किराँतीले बताए। यसअघि खुला रुपमा लिखित सुझावसमेत विभिन्न सरोकारवालासँग मागिएको थियो। पुराना ऐन बाधक बन्दा सम्भावना रहेर पनि पर्यटन क्षेत्रमा भने जस्तो प्रगति नभएको निजि क्षेत्रको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।