काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।
‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५०,०० रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५०,०० रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना जनवरी ३१, २०२४ सम्म लागु हुने बताइएको छ।
ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुन: सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ।
ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा शाखा राखेर बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।