काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सदनमा प्रतिपक्षी दलले उठाएका विभिन्न विषयबारे शुक्रबारको बैठकमा सम्बन्धीत मन्त्रीले जानकारी दिने प्रतिवद्धता जनाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री ढकालले निर्मला पन्तको हत्याको घटनाबारे छानबिन आयोग निर्माण गरिएको र त्यसको प्रतिवेदन आउन लागेको भन्दै उनले बैठकमा उठेका विभिन्न विषयको सम्बन्धीत मन्त्रीले नै सदनमा जानकारी गराउने प्रष्ट पारेका हुन्।
पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलले निर्मला पन्तको बलात्कारपछि हत्याको घटना र त्यससँग जोडिएर आएका विषयबारे सरकारसँग जवाफ माग गरेको थियो। त्यसैगरी, रोल्पा सुलीचौरमा तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कारबाहीको दायरामा ल्यान नसक्नुको कारण तथा खोजतलास साप्ताहिकका सम्पादकलाई विनाकारण गिरफ्तार गरिएको भन्दै त्यसबारे जवाफ माग गर्दै संसद अवरोध गरिएको थियो।
प्रतिपक्षी दलले सम्बन्धीत घटनामा जवाफ माग गरेपछि सरकारका तर्फबाट कानुन मन्त्री ढकालले दोश्रो बैठकलाई सम्बोधन गर्दै त्यसबारे सरकारले जवाफ दिने प्रतिवद्धता जनाएका थिए।
‘रोल्पा सुलिचौर गोलिकाण्डमा रोहित पुनको हत्या भएको घटना र खोजतलास साप्ताहिकका सम्पादकलाई गिरफ्तार गरी अमानवीय ढंगले व्यवहार गरिएको विषयमा प्रमुख प्रतिपक्षी दलबाट ध्यानाकर्षण भएको छ।’, उनले भने, ‘यी घटनासँग सम्बन्धित सबै अभियुक्तहरुलाई उचित समयमा सरकारले कडा भन्दा कडा कारबाही गर्ने प्रतिवद्धता सरकारको तर्फबाट यहाँ गर्न चाहन्छु। र, सम्बन्धित अन्य विषयहरुमा भोलि बस्ने संसद बैठकमा सम्बन्धित मन्त्रिमार्फत जानकारी दिने व्यहोरा सभामुख मार्फत संसदलाई जानकारी गराउन चाहन्छु।’
मन्त्री ढकालले सरकारको तर्फबाट प्रतिवद्धता जनाएपछि दोश्रो बैठकको कारबाही अघि बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।