काठमाडौं– रंगकर्मी रामहरि ढकालको परिकल्पना र निर्देशनमा पुस ११ गतेबाट थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'गुलाफः यशोधराको जागरण यात्रा'ले युरोपको यात्रा पनि तय गरेको छ।
२३ मेमा नर्वेमा उक्त नाटक मञ्चन हुने नाटकका मञ्च व्यवस्थापक केदार श्रेष्ठले बताए।
नर्वेमा नाटकको तीन शो हुनेछन्। 'फिजिकल थिएटर'लाई अभ्यास गर्दै आइरहेका रामहरिको यो नाटक अघिल्लाहरूझैं पृथक् छ। निर्देशक ढकालका अनुसार नाटकमा संवाद छैन तर दृश्यहरूनै बोल्नेछन्।
नाटकमा यशोधराको भूमिका कलाकार दीया मास्के र सरिता साहले निभाएका छन्। सिद्धार्थ गौतमले नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढाव नै नाटकको विषयवस्तु हो।
नाटकमा देव न्यौपानको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको भेषभुषा, हुम बिसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन छ।
ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एण्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ भने नेपालमा एक्टर्स स्टुडियो र थिएटर मलले प्रदर्शन सहयोगीको भूमिका निर्वाह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।