काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसको हारबाट पाठ सिकेर अघि बढ्न पनि आग्रह गरे। उनले निर्वाचनमा भएको जीत ‘सधैंका लागि हो जस्तो’ भ्रममा नपर्न पनि प्रधानमन्त्री ओलीलाई सचेत गराए।
बिहीबार काठमाडौंमा आयोजित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपाली–नेपाली बीचनै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्ने सुझाव पनि सत्तारुढ दलका नेताहरुलाई दिए।
प्रवक्ता शर्माले सत्तामा रहेर गल्ती गर्दा कांग्रेसले निर्वाचनमा हार ब्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृत्वलाई सुझाव दिए। उनले पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेकपाका कार्यकर्ताहरुलाई सचेत रहन पनि आग्रह गरे। प्रतिपक्षको रुपमा सरकारलाई गलत बाटोमा जान नदिन कांग्रेसले खबरदारी गरिरहने पनि प्रवक्ता शर्माले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।