काठमाडौं– वरिष्ठ पत्रकार गोकुल पोखरेलको काठमाडौंमा निधन भएको छ।
८७ वर्षीय पोखरेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सोमबार निधन भएको उनको पारिवारिक सूत्रले जनाएको छ।
दमको बिरामी रहेका पोखरेल कोभिडबाट संक्रमित भएपछि तंग्रन सकेका थिएनन्। नेपालको जेठो पत्रिका गोरखापत्रका पूर्व सम्पादक गोकुलप्रसाद पोखरेलले राष्ट्रिय समाचार समितिको सम्पादकको जिम्मेवारी पनि सम्हालेका थिए।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्यको रुपमा काम गरेका पोखरेल नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत थिए। उनले अन्य वरिष्ठ पत्रकारहरुसँग मिलेर सन् १९८४ मा नेपाल प्रेस इन्स्टिच्यूटको स्थापना पनि गरेका थिए।
नेपाल विज्ञान लेखक संघका संस्थापक पनि रहेका पोखरेलले सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्यको रुपमा पनि काम गरेका थिए।
‘नेपाली पत्रकारितामा अपूरणीय क्षति’
पोखरेलसँग लामो समय सहकार्य गरेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारिता क्षेत्रमा झन्डै चार दशक बिताएका पोखरेलको निधनबाट नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले भने, ‘उहाँ एक इमान्दार, जिम्मेवार र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको नेपाली तथा अंग्रेजी दुवै भाषामा दखल थियो। पत्रकारिता क्षेत्र प्रदूषित भै रहेका बेला उहाँले स्वच्छ छवि कायम राख्नु भयो। उहाँको मार्गदर्शनबाट आगामी पुस्ता लाभान्वित हुनु पर्ने देख्छु।’
पोखरेलले पत्रकारितासंग सम्बन्धित विभिन्न पुस्तक पत्रिकाको सम्पादन गर्नुका साथै दर्जनौं लेखहरु लेखेका छन्।
धनकुटामा जन्मिएका पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।